NEP
  • NEP
  • ENG

नेपाल राष्ट्रिय पुस्तकालयको ६८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेपाल राष्ट्रिय पुस्तकालयले आफ्नो ६८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। ऐतिहासिक महत्व बोकेको यस संस्थाले विगत छ दशकभन्दा बढी समयदेखि ज्ञान र सूचनाको संवाहकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस अवसरमा सानोठिमी स्थित पुस्तकालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पुस्तकालय अभियन्ता श्रीमती इन्दिरा दली रहनुभएको थियो भने पुस्तकालय प्रमुख श्री प्रदीप भट्टराईको अध्यक्षतामा समारोह सम्पन्न भयो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नवनिर्मित बालकक्षको उद्घाटन गरिएको छ, जसबाट बाल पुस्तकालय सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।

वार्षिकोत्सव समारोहमा नेपालका विभिन्न प्रतिष्ठित पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रका विज्ञ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा केसर पुस्तकालयका प्रमुख श्री यादवचन्द्र निरौला, नेपाल पुस्तकालय संघका अध्यक्ष श्री पुष्पराज सुवेदी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव श्री प्रेमराज अधिकारी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख श्री सागरराज सुवदी, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका प्रमुख श्री लीला न्याइच्याइ, नेपाल राष्ट्रिय पुस्तकालयका पूर्व कर्मचारी एवं नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष श्री भोला कुमार श्रेष्ठ, तथा त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका पूर्व शिक्षक श्री रूद्र प्रसाद दुलाल रहनुभएको थियो।

कार्यक्रमको विशेष अवसरमा नेपाल राष्ट्रिय पुस्तकालयका सिनियर बुक बाइन्डर श्री अचुतराम पराजुलीलाई उहाँले पुस्तकालयका लागि पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो। उहाँलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो।

कार्यक्रमका प्रमुख अतिथिसहित विशिष्ट अतिथिहरूलाई पुस्तकालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। समारोहमा नेपालका विभिन्न पुस्तकालयका कर्मचारी, पाठक तथा पुस्तकालय क्षेत्रका सरोकारवालाहरू गरी करिब १३० जनाको सहभागिता रहेको थियो।

नेपाल राष्ट्रिय पुस्तकालयले आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको विस्तार गर्दै सूचना, ज्ञान र पुस्तकालय सेवाको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।